कोभिडका कारण १७ प्रतिशत होटल पूर्ण रूपमा बन्द
- भदौ १७, २०७८
- 0
कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको र पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिकरमजदुरको रोजगारी जोखिममा परेको छ ।
नेपाल उद्योग परिसङ्घले पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँग विद्यमान सङ्कट र त्यसको समाधानका उपायका विषयमा गरेको छलफलमा उक्त जानकारी गराइएको हो ।
छलफलमा सहभागीले देशव्यापी रूपमा कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने सुझाव दिएका छन् ।
पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरुत्थानमा सरकारले विशेष जोड दिनुपर्ने, पुनरुत्थानका लागि बिनाधितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेको परिसङ्घले जनाएको छ ।
यसैगरी पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।
परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसङ्घ अग्रस्थानमा रहेर काम गर्ने बताउनुभयो ।