राष्ट्रिय वाणिज्य बैंकद्धारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकवर्गको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबारबाट क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमकाबीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको छ ।

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउंदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताउनुभयो ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङ्गतर्फ बैंक अगाडि बढिरहेकोे बताउनुहुँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताउनुभयो ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउंदा खुसी लागेको बताउंदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गर्नुभयो ।

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि पाँच लाख रुपैंयासम्मको क्रेडिट लिमिट दिन सकिने बताउनुभयो । डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताउनुभयो ।

बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, विभागीय प्रमुखहरु, बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *