जनताको पसिनाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाऔं:अर्थमन्त्री

news-details

अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । “राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।

मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताउनुभयो । “निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन ।” मन्त्री शर्माले थप्नुभयो “ मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।”

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लाग्नुभएका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताउनुभयो ।

विदाई समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लाग्नु भएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग विदाई हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गर्नुभयो । उहाँले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

विदाई मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व संकलनमा समेत सुधार आउने तर्क गर्नुभयो । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपुरक रहेको भन्दै उहाँले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिनुभयो । सचिव पुडासैनीले भन्नुभयो “हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।” तीन दशकभन्दा लामो समय निजामति सेवामा विताउदाको अनुभव सुनाउदै उहाँले नेपालमा राजनैतिक क्षेत्रले व्यूरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास गरिनसकेको बताउनुभयो ।

वि.सं. २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष विताउनुभएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते आइतवारदेखि सेवानिवृत्त हुँदै हुनुहुन्छ ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित विदाई गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *