आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी
- अशोज १४, २०८३
- 0
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन तहमा कति समय रहने र कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने स्पष्ट पार्न ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) बनाउन लागिएको हो ।
बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले आईपीओ स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन एसओपी आवश्यक रहेको बताएका हुन् । उनका अनुसार बोर्डमा आईपीओसम्बन्धी फाइल विभिन्न तहमा अध्ययन तथा समीक्षाका लागि जाने भएकाले प्रत्येक तहको जिम्मेवारी र फाइल अघि बढाउने समयसीमा स्पष्ट पारिनेछ । यसबाट प्रक्रिया पूरा भएका फाइल अनावश्यक रूपमा लामो समय रोकिराख्ने अवस्था अन्त्य हुने बोर्डको अपेक्षा छ ।
‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर फर आईपीओ अप्रुभल बनाउँदैछौँ । बोर्डमा विभिन्न तह हुन्छन् । कुन फाइल कुन तहमा पुगेको छ र त्यहाँबाट कसरी अघि बढाउने भन्ने स्पष्ट प्रणाली बनाउँदैछौँ,‘ अध्यक्ष भट्टले समितिमा भने ।
अहिले आईपीओ स्वीकृतिका लागि कम्पनीले पेश गरेका कागजात तथा फाइल बोर्डभित्र विभिन्न तहबाट अध्ययन हुने गर्छन् । वित्तीय, कानुनी, प्राविधिक तथा अन्य आवश्यक पक्षको समीक्षा गरेपछि मात्र स्वीकृति प्रक्रियामा फाइल अघि बढ्ने व्यवस्था छ ।
अब बन्ने एसओपीमा फाइल कुन तहमा पुगेपछि के प्रक्रिया पूरा गर्नुपर्ने, सम्बन्धित तहको जिम्मेवारी के हुने र फाइल कति समयभित्र अर्को चरणमा पठाउने भन्ने विषयलाई व्यवस्थित गर्ने तयारी छ । अध्यक्ष भट्टले कानुनी वा अन्य समस्या नभएका फाइल अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्न खोजिएको बताए ।
यसले आईपीओ स्वीकृतिको प्रक्रियामा कम्पनीले भोग्दै आएको अनिश्चितता कम गर्ने अपेक्षा गरिएको छ । यद्यपि स्वीकृतिको निश्चित अवधि तोक्नुअघि कम्पनीले पेश गर्ने कागजात, नियामकीय परीक्षण तथा अन्य निकायबाट आवश्यक पर्ने स्वीकृतिलाई समेत प्रक्रियामा समेट्नुपर्ने हुन्छ ।
बोर्ड अध्यक्ष भट्टले आईपीओ फाइल कुन तहमा पुगेको छ भन्ने जानकारी हुने गरी प्रणाली विकास गर्न लागिएको संकेत गरेका छन् । उनका अनुसार कम्पनीसँग सम्बन्धित वित्तीय तथा अन्य विवरणको समीक्षा, सरकारी निकायबाट आवश्यक स्वीकृति र बोर्डभित्र हुने परीक्षणलाई छुट्टाछुट्टै चरणमा व्यवस्थित गरिनेछ । फाइल सम्बन्धित तहमा पुगेपछि सोही तहबाट आवश्यक काम अघि बढाउने र प्रक्रिया पूरा भएपछि अर्को तहमा पठाउने व्यवस्था मिलाउने तयारी बोर्डको छ ।
आईपीओसँगै अन्य नियामकीय प्रक्रिया व्यवस्थित गर्ने योजना
अध्यक्ष भट्टले आईपीओ स्वीकृतिको प्रक्रियासँगै बोर्डका अन्य कामलाई पनि प्रक्रियागत रूपमा व्यवस्थित गर्ने बताएका छन् । उनले पुँजी बजारमा कम्पनीहरूले लगानीकर्तालाई दिनुपर्ने सूचना तथा ‘डिस्क्लोजर’ समयमै उपलब्ध गराउनुपर्ने बताए । कम्पनीले नियामकीय दायित्व पूरा नगरे आवश्यक कारबाही गरिने उनको भनाइ छ ।
बोर्डले मार्जिन कारोबारको प्रणाली विस्तार, नयाँ वित्तीय उपकरणको विकास तथा साना लगानीकर्तालाई म्युचुअल फन्डमार्फत लगानीमा सहभागी गराउने विषयमा समेत काम गरिरहेको अध्यक्ष भट्टले जानकारी दिए । उनका अनुसार आगामी दिनमा नयाँ नीति तथा कार्यप्रणाली बनाउँदा लगानीकर्ता, सूचीकृत कम्पनी, ब्रोकर तथा अन्य सरोकारवालासँग छलफल गरेर अघि बढाइनेछ ।














