माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने, ३० हजार अवलोकनकर्ता ल्याउने लक्ष्य

news-details

काठमाडौं । आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो हुन लागेको हो । इप्पानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौं संस्करणको एक्स्पो आयोजना हुने मिति घोषणा गरेको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इप्पान अध्यक्ष मोहन डाँगीले सन् २०१७ देखि हरेक २ वर्षमा आयोजना हुँदै आएको एक्स्पो यसपटक ‘इप्पान डे’ को अवसर पारेर माघ ३ देखि ५ गतेसम्म आयोजना गर्ने तय भएको जानकारी दिए ।

‘यसअघिका वर्षहरूमा हिमालयन हाइड्रो एक्स्पोको नाममा प्रदर्शनी हुँदै आएको थियो,’ उनले भने, ‘यसपटकदेखि हिमालयन ग्रीन इनर्जी एक्स्पो नाम दिएर आयोजना गर्दैछौं ।’ उनले यसपटकदेखि अब हरेक वर्ष नै एक्स्पो आयोजना गरिने पनि पत्रकार सम्मेलनमा बताए ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड नै जलविद्युत क्षेत्र भएकाले पनि यस्ता एक्स्पोले यो क्षेत्रसँग जोडिएका सबैलाई एउटै मञ्चमा जोड्न एक्स्पो महत्त्वपूर्ण हुने उनले बताए । सरकारको विद्युत उत्पादनको लक्ष्यलाई निजी क्षेत्रले आफ्नो लक्ष्य मानेर जलविद्युत क्षेत्रमा लगानी गरिरहेको बताउँदै अध्यक्ष डाँगीले एक्स्पोले सरकारी लक्ष्यलाई थप प्रवद्र्धन गर्ने दावी समेत गरे ।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ (Resilient Energy, Prosperous Nepal) नारा दिइएको एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक्स्पोमा सहभागिताका लागि स्टल बुकिङसमेत खुला गरिएको छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोल लामाले नेपालमा यो पटक हजारौं वर्षमा एक पटक आउने महाप्रलय बाढीका कारण जलविद्युत क्षेत्र लगानीका लागि सुरक्षित नभएको भन्ने भाष्य निर्माण गर्न नहुनेमा जोड दिए । ‘जलविद्युत आयोजना निर्माण गर्दा १०० वर्षको बाढीको प्रक्षेपण गरेर संरचना निर्माण गरिएको हुन्छ । तर, यो पटक महाप्रलय आएको हो, विपद् आयो भनेर भन्न थालियो भने कसैले लगानी गर्दैन । लगानीको दृष्टिले यो क्षेत्र सधैं सुरक्षित छ, क्षतिग्रस्त आयोजना पनि पुनर्निर्माण हुन्छन्,’ उनले भने, ‘बरु एक्स्पोमा जलवायुजन्य क्षति न्यूनिकरण कसरी गर्ने भन्ने सम्बन्धमा छलफल तथा बहस गरेर यो क्षेत्रलाई थप सुरक्षित बनाउनु पर्छ ।’

नेपालको ऊर्जा क्षेत्र उत्पादन क्षमता विस्तार, विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेका बेला एक्स्पो आयोजना गर्न लागिएको इप्पानका महासचिव टिएन आचार्यले जानकारी दिए । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा आयोजना भएका ऊर्जा एक्स्पोको निरन्तरताका रूपमा नै यो एक्स्पो हुने उनले बताए । ‘अब एक्स्पोलाई इप्पानको स्थापना दिवससँग जोडेर हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना गर्ने वार्षिक ऊर्जा इभेन्टका रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ,’ महासचिव आचार्यले भने ।

एक्स्पो रणनितिक,आर्थिक तथा सरकारले लिएको विद्युत उत्पादनको लक्ष्यका हिसाबले अत्यन्तै महत्त्वपूर्ण भएको उनको भनाई थियो । इप्पानका अनुसार सरकारको १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग पुग्ने गरी ऊर्जा क्षेत्रका लगानीकर्ता, नीति निर्माता, सरकारी प्रतिनिधि, विज्ञ, प्रविधि तथा उपकरण उत्पादक, आपूर्तिकर्ता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने उद्देश्य एक्स्पोको छ ।

इप्पानको इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कमिटि संयोजक आनन्द चौधरीले बिगतका वर्षहरूमा आयोजना गरिएको एक्स्पोले नेपालको जलविद्युत क्षेत्रलाई प्रवद्र्धन गर्न ठूलो सहयोग गरेको बताउँदै अहिले स्वदेशी ऊर्जा उत्पादकहरूको लगानी क्षमता पनि विस्तार हुँदै गएकाले यो वर्षको एक्स्पोले पनि अन्तर्राष्ट्रिय जगतसम्म प्रचार प्रसार गर्ने विश्वास व्यक्त गरे । एक्स्पोलाई यही लक्ष्य कार्यान्वयनका लागि आवश्यक लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा विकास गर्न लागिएको इप्पानले जनाएको छ ।

यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले इप्पानसँगको सहकार्यमा हुने एक्स्पोको अहिले अन्तर्राष्ट्रिय जगतबाट पनि चासो र खोजी हुन थालेको बताए । ‘सुरुवाती चरणमा के का लागि आयोजना गर्न लागिएको भन्ने प्रश्न आउँथ्यो । तर, अहिले किन ढिलाइ भइरहेको छ ? भन्ने प्रश्न आउन थालेको छ । त्यही कारण पनि ग्रीन इनर्जी एक्स्पो अब हरेक वर्ष नै आयोजना गर्नुपर्ने समय आएको छ,’ उनले भने ।

ऊर्जा उत्पादन विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिम बढ्दै गएपछि एक्स्पोमा ऊर्जा पूर्वाधारको उत्थानशीलतालाई समेत प्रमुख विषय बनाइने भएको छ । पछिल्ला वर्षमा बाढी, पहिरो तथा गेग्रान बहावका कारण विभिन्न जलविद्युत् आयोजना र ऊर्जा पूर्वाधारमा क्षति पुगेको घटनालाई ध्यानमा राख्दै सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका विषयमा एक्स्पोमा बहस तथा अनुभव आदानप्रदान गरिनेछ ।

इलाम, संखुवासभा र लमजुङमा भएका बाढी तथा पहिरोका घटनादेखि पछिल्लो समय भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएका ठूला विपद्सम्मका घटनाबाट ऊर्जा पूर्वाधारमा परेको प्रभावलाई समेत विश्लेषणको विषय बनाइने आयोजकले जनाएको छ । जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी तथा नवप्रवर्तनलाई एक्स्पोका प्रमुख विषयका रूपमा अघि सारिनेछ ।

यसपटक एक्स्पोलाई परम्परागत जलविद्युत् प्रदर्शनीमा सीमित नराखी ‘एकीकृत हरित ऊर्जा बजार’ को अवधारणामा अघि बढाइने भएको छ । जलविद्युतसँगै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिलाई एक्स्पोमा समेटिने पनि इप्पानले जनाएको छ ।

एक्स्पोले ऊर्जा उत्पादक तथा आयोजना विकासकर्तादेखि लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप र विकास साझेदारबीच व्यावसायिक सम्पर्क तथा साझेदारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागितामार्फत नेपालमा नयाँ प्रविधि र लगानी भित्र्याउने तथा नेपाली ऊर्जा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने लक्ष्य पनि राखिएको छ । यसबाट नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

एक्स्पोमा व्यवसायिक सम्पर्क र प्रविधि प्रदर्शनसँगै विभिन्न कार्यक्रम आयोजना हुनेछन् । प्रमुख आकर्षणका रूपमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ । प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि राखिनेछन् ।

विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई पनि एक्स्पोमा समावेश गरिने भएको छ । यसले ऊर्जा क्षेत्रमा नयाँ पुस्ताको नवप्रवर्तन र प्रविधिलाई व्यावसायिक क्षेत्रसँग जोड्ने अवसर दिने आयोजकको भनाइ छ ।

एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायत विभिन्न देशका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी छ । सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञलाई समेत सहभागी गराउने तयारी आयोजकको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया