पार्टीको आसन्न महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न सबै पक्षसँग गगन थापाको आग्रह
- अशोज १, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आसन्न महाधिवेशनलाई विभाजित नभई एकताबद्ध रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्यको आग्रह गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीका सबै नेताहरूलाई एउटै ठाउँमा ल्याएर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।
उनले महाधिवेशन छुट्टाछुट्टै गर्नुपर्ने कुनै कारण नरहेको भन्दै पार्टीभित्र देखिएका मतभेदलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
‘मेरो आदरणीय नेता शेरबहादुर देउवाजीलगायत सबै नेताहरूलाई विशेष अनुरोध गर्न चाहन्छु । अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन । सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ,’ थापाले भने ।
पार्टी सभापतिको हैसियतमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूले आवश्यक पहल गर्ने उनले बताए । त्यसका लागि आफ्नो तर्फबाट आवश्यक लचकता अपनाउनसमेत तयार रहेको उनको भनाइ छ ।
महाधिवेशनको तयारीका लागि समय कम रहेकाले जिल्ला तथा तल्लो तहमा जानुभन्दा व्यवस्थापनको कामलाई प्राथमिकता दिन उनले केन्द्रीय नेताहरूलाई आग्रह गरे ।
आवास, भोजनलगायत महाधिवेशनसँग सम्बन्धित विभिन्न पक्षको व्यवस्थापनका लागि समितिहरू बनाएर काम अघि बढाउने तयारी रहेको उनले बताए ।
‘छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिनुहोस्,’ थापाले भने ।
महाधिवेशनपछि भ्रातृ संस्थासहित पार्टीका अन्य विषयमा पनि सबैसँग परामर्श गरेर अघि बढ्ने उनले बताए । पार्टीभित्र सहमति र सहकार्यको वातावरण बनाउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने आफ्नो प्रयास रहने उनको भनाइ छ।











