गगनलाई खड्काको आग्रह– ‘महाधिवेशन सारेर देउवासहितका नेतासँग संवाद थाल्नुस्’
- अशोज १, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय सारेर पार्टीभित्र एकताका लागि तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत खड्काले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई पार्टीको सम्पूर्ण एकताका लागि पुनः गम्भीर भएर सोच्न आग्रह गरेका हुन् ।
खड्काले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी केही समय सार्न सुझाव दिएका छन् । त्यसपछि थापाले आफैँ अग्रसर भएर १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेतासँग तत्काल वार्ता र संवाद सुरु गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ’ भन्दै खड्काले थापालाई त्यसका लागि आफूले आवश्यक पहल र त्याग गर्न तयार रहेको बताएका छन् ।
उनले पार्टीमा दुईवटा अलग–अलग महाधिवेशन हुने अवस्था रोक्नुपर्नेमा जोड दिएका छन् । यस्तो अवस्था कायम रहे कांग्रेस विभाजनलाई रोक्न कठिन हुने उनको चेतावनी छ ।
खड्काले थापालाई विगतका घटनाक्रम र आफूले पाएका सुझावलाई गम्भीर आत्मसमीक्षाको विषय बनाउनसमेत आग्रह गरेका छन् । पार्टीको एकताका लागि ‘निर्णायक र साहसिक कदम’ चाल्दै सबैलाई समेट्ने नेतृत्व लिन उनले थापालाई सुझाव दिएका छन् ।
यसअघि पनि खड्काले कांग्रेसभित्रको विवाद समाधानका लागि संवाद र सहमतिमार्फत एकता कायम गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । पछिल्लो समय थापा र खड्काबीच पार्टीभित्रको विवाद समाधान तथा महाधिवेशनमा सबै पक्षको सहभागिताबारे संवादसमेत हुँदै आएको थियो।
खड्का पक्षले पछिल्लो समय असोज ३ बाट सुरु हुने १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुने निर्णय गरेको समाचारसमेत सार्वजनिक भएको छ।










