उडान भरेको केही समयमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो ९एएआईबी०ले सार्वजनिक गरेको १५ पृष्ठको प्रतिवेदनमा एयर इन्डिया विमान दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको उल्लेख छ।
अहमदाबाद विमानस्थलबाट उडेपछि केही सेकेण्डभित्रै एकपछि अर्को गर्दै जहाजका दुवै इन्जिन बन्द भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। इन्धन बन्द भएपछि इन्जिनले काम गर्न छोड्दा विमान खसेको प्रारम्भिक निष्कर्षमा निकालिएको छ।
प्रतिवेदनअनुसार, ककपिटमा रहेको इन्धन नियन्त्रण स्विचहरू ‘रन’ बाट ‘कटअफ’ मा परिणत भएपछि इन्जिनहरूमा इन्धन आपूर्ति रोकिएको थियो। ककपिट रेकर्डिङ अनुसार एक पाइलटले अर्को पाइलटलाई ‘के तिमीले इञ्जिन बन्द गर्यौ रु’ भन्ने प्रश्न गर्दा जवाफमा ‘मैले होइन’ भन्ने सुनिएको प्रतिवेदनमा उल्लेख छ। पाइलटहरूले इन्जिन फेरि स्टार्ट गर्ने प्रयास गरेपनि एउटा इञ्जिन आंशिकरुपमा मात्र स्टार्ट भएको थियो। त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए, त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो।
दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो। गएको थियो। जहाजमा सवार २४१ जनामध्ये एक जना मात्र बाँच्न सफल भएका थिए। एआई १७१ ले १२ जुन दिउँसो १:३८ बजे अहमदाबावबाट लण्डनका लागि उडान भरेको थियो। ७८७–८ ड्रीमलाइनर क्याप्टेन सुमित सभरवाल र सह–पाइलट क्लाइभ कुन्दरले उडाइरहेका थिए। संयुक्त रूपमा ९,००० घण्टा उडान अनुभवका साथ दुवै जना अत्यन्तै अनुभवी थिए।सभरवालसँग व्यावसायिक एयरलाइन पाइलटको रूपमा २२ वर्षभन्दा बढीको अनुभव थियो।
पूर्ण अनुसन्धानपछि मात्र अन्तिम निष्कर्ष सार्वजनिक हुने एअरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरो (एएआईबी) ले जनाएको छ। घटनाको विषयमा अझै विस्तृत अनुसन्धान भइरहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियमअनुसार दुर्घटनाको ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान छ।








