रुस–युक्रेन युद्धको २ वर्ष : ३१ हजार युक्रेनी सैनिक मारिए २६० बढी नेपाली बेपत्ता

news-details

रुस युक्रेन युद्धसुरु भएको २ वर्षमा युक्रेनले आफ्ना ३१ हजार सैनिक गुमाएको बताएको छ ।

सन् २०२२ को फेबुअरी २४ देखि सुरु भएको युद्धको २ वर्ष पुरा भैसकेको छ । तर, युद्ध अझै रोकिएको छैन् ।

युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको शनिबार बताएका छन् तर, उनले घाइते सैनिकको संख्या भने सार्वजनिक नगर्ने प्रष्ट पारे ।

युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौ सर्वसाधारण युद्धको नकारात्मक प्रभावसँग जुधिरहेका छन् ।

युद्धबाट भएको मानविय,भौतिक क्षतिसँगै आर्थिक सामाजिक क्षेत्रमा परेको असर नगन्य छ ।

रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन् । यस्तै, लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपुर्ण र अन्यौलताका स्थितिमा रहेका छन् । विशेषगरी बालबालिकाहरुलाई युद्धले गहिरो चोट दिएको छ ।

युक्रेनी मात्रै नभएर रसियन नागरिक पनि युद्धको असर भोगिरहेका छन् । दुई देशबीचको युद्धले पश्चिमा राष्ट्रलाई धु्रविकृत बनाएको छ ।

आफूभन्दा शक्तिसाली रुससँगको लडाईमा युक्रेनलाई अमेरिका,बेलायत,इयुजस्ता संस्था लगायतका शक्ति राष्ट्रहरुले आर्थिक र अन्य सहयोग गर्दै आएका छन् ।

युद्ध सुरु भएपछि रुसले युक्रेनको १८ प्रतिशतमा रुसले कब्जा जमाएको अमेरिकी संस्था इन्स्टिच्युट फर स्टडी अफ वार (आइएसडब्ल्यू) ले जनाएको छ । रुसी सेनाले युक्रेनको डोनेट्स्क, लुहान्स्क, जापोरिझिया, खेरसन र खार्किभका केही भागहरू कब्जा गरेको छ ।

रुसी सेनाले सन् २०१४ मा युक्रेनी प्रायद्वीप क्रिमिया कब्जा गरेको थियो । त्यसपछि रुस युक्रेनबीचको सम्बन्धमा दरार थप बढेको थियो भने २०२२ मा रुसले युक्रेनमा एकतर्फी आक्रमण सुरु गरेपछि युक्रेनले पनि जवाफी आक्रमण सुरु गरेको थियो ।

युद्धको प्रभाव विश्वस्तरमै परिरहेको छ । तेल, खाद्यान्न लगायतका कुराहरुको महँगी दर निरन्तर बढि रहेको छ ।

यतिमात्र होइन युद्धको असरबाट नेपाल पनि अछुतो छैन् । युद्धको असर नेपालीले पनि भोगिरहेका छन् । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । एक सय १६ जना घाइते भएका छन् भने बेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका नेपालीको संख्या दुई सय ६० जनाभन्दा बढी रहेको कन्सुलर सेवा विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *