बंगलादेशकी शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का

news-details

बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ ।

यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो । योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन् ।

गोपालगञ्ज–३ सिटबाट उनले बंगलादेशको सर्वोच्च पार्टीका उम्मेदवार एम निजामुद्दीन लस्करलाई २ लाख ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरिन् ।

हसिनाले २ लाख ४९ हजार ९ सय ६५ मत पाउँदा निजामुद्दीनले ४६९ मत मात्र प्राप्त गरे । हसिनाले पहिलो पटक सन् १९८६ मा चुनाव जितेकी थिइन् ।

बंगलादेश निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा जम्मा ४० प्रतिशत मत खसेको छ ।

यो आंकडा परिवर्तन हुन सक्छ । २०१८ को चुनावमा ८० प्रतिशत मतदान भएको थियो । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत देशका विपक्षी दलहरूले चुनाव बहिष्कार गरेका थिए।

शेख हसिना बंगलादेशको पाँचौं पटक प्रधानमन्त्री बन्न लागेकी छन् । उनी सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री थिइन् ।

त्यसपछि सन् २००९ मा उनी फेरि प्रधानमन्त्री बनेर सत्तामा फर्किइन् । त्यसबेलादेखि अहिलेसम्म उनी लगातार सत्तामा छिन् ।

बंगलादेशमा विपक्षी दलको अनुपस्थितिमा मतपत्रमा अवामी लिग, उसको सहयोगी दल र स्वतन्त्र उम्मेदवारको नाम मात्रै लेखिएको थियो । यस्तो अवस्थामा सत्तारुढ दल अवामी लिगको जित औपचारिकता मात्र बाँकी थियो ।

उता पूर्वप्रधानमन्त्री तथा बिएनपी प्रमुख खालिदा जियाले मंगलबारदेखि सरकारविरोधी आन्दोलन गर्ने योजना बनाएको बताएकि छिन् ।

उनले यो चुनावलाई नक्कली चुनावको संज्ञा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीएनपीले २०१४ मा पनि चुनाव बहिष्कार गरेको थियो तर २०१८ मा भने भाग लिएको थियो । यसपटक पनि खालिदाको पार्टीसहित १६ दल निर्वाचनबाट टाढा रहेका थिए ।

यस्तै प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगका नेता तथा कार्यकर्तालाई विजयको खुसीयाली मनाउन, ¥याली वा जुलुस नगर्न निर्देशन दिएकी छन् ।

बंगलादेशको संसदमा कुल ३५० सिट छन्। जसमध्ये ५० सिट महिलाका लागि आरक्षित छन् । आरक्षित सिटका लागि चुनाव हुँदैन, जबकि प्रत्येक पाँच वर्षमा ३०० सिटका लागि आम निर्वाचन हुन्छ ।

बंगलादेशमा बंगलादेश अवामी लिग, बंगलादेश नेसनलिस्ट पार्टी र जटिया पार्टी गरी ३ प्रमुख राजनीतिक दल छन् । २०१८ को आम चुनावमा यी तीन दलका उम्मेदवारहरूले ३०० मध्ये २९० सिट जितेका थिए । जसमध्ये शेख हसिनाको अवामी लिगले २५७ सिटमा जित हासिल गरेको थियो । बंगलादेशको नेशनलिस्ट पार्टीले २६ सिटमा जित हासिल गरेको थियो भने खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले ७ सिटमा जित हासिल गरेको थियो ।

यसपटक अर्थात् २०२४ मा २७ राजनीतिक दलका १ हजार ५ सयभन्दा बढी उम्मेदवारबाहेक ४ सय ३६ स्वतन्त्र उम्मेदवारले चुनाव लडेका थिए । यीमध्ये करिब २०० उम्मेदवार शेख हसिनाका समर्थक हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *