एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन ।
ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिएकी हुन । प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता जनाए अनुसार काम नगरेको भन्दै पछिल्लो समय उनको आलोचना हुँदै आएको थियो ।
प्रधानमन्त्री ट्रसको आलोचना भइरहेकै बेला बेलायती गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि ट्रस झन संकटमा परेकी थिइन । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउँदै राजीनामा दिएका थिए । बेलायतको इतिहासमा प्रधानमन्त्री ट्रस सबैभन्दा थोरै समय प्रधानमन्त्री पदमा बसेर बाहिरिनेमा परेकी छिन । यसअघि सन् १८२७ सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङले प्रधानमन्त्री पद सम्हालेका थिए ।
प्रधानमन्त्री ट्रसले आफूले बेलायतको वर्तमान अवस्थालाई हेरेर राजीनामा दिएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । दिन प्रतिदिन बिग्रँदै गएको बेलायतको अर्थतन्त्रको बीचमा, ट्रसका धेरै निर्णयहरूले उनको राजनीतिक भविष्यलाई संकटमा पार्दै लगेको थियो । नयाँ प्रधानमन्त्री चयन नभएसम्म ट्रस नै प्रधानमन्त्री रहनेछिन ।
बेलायतको कन्जरभेटिभ पार्टी भित्रै प्रधानमन्त्री चयनका लागि मतदान गरिनेछ । ट्रस गत महिना मात्रै प्रधानमन्त्री बनेकी थिइन ।








