बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्ने भएकी छिन ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गर्दै ट्रस विजयी भएकी हुन । पार्टीका झन्डै डेढ लाख सदस्यले प्रत्यक्ष मतदान गरेकोमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भारतीय मुलका नेता ऋषि सुनकले ६० हजार ३ सय ९९ मत पाए ।

कन्जरभेटिभ पार्टीको नेतामा विजयी ट्रसलाई बेलायती महारानी एलिजावेथ द्वितीयाले आज (मंगलबार) प्रधानमन्त्री नियुक्त गर्दै छिन । बेलायतको ५६औं प्रधानमन्त्री बन्न लागेकी ट्रस बेलायतमा तेस्रो महिला प्रधानमन्त्री बन्दै छिन ।

सत्तारुढ कञ्जरभेटिभ पार्टीको संसदीय दलको नेता निर्वाचित भएलगत्तै उहाँले कर कटौती गर्ने आफ्नो प्रतिवद्धता लागू गर्ने र बेलायतलाई मन्दीमा जानबाट रोक्ने बताएकी छिन । रुस र युक्रेन युद्धका कारण बढेको उर्जा संकट सहज बनाउन पनि उनले केही सुधारात्मक निर्णय लिने विश्वसास गरिएको छ ।