न्युनतम ज्यालामा बृद्दि भए यता कतारमा तीन लाख भन्दा बढी आप्रवासी कामदारको ज्यालामा एक हजार रियाल भन्दा बढीले बढोत्तरी भयो । प्रति महिना एक हजार भन्दा कम आम्दानी भएका श्रमिकको तलव १८ सय रियाल पुग्यो ।

खाना बस्नको राम्रो व्यवस्था भएमा कम्पनीले महिनावारी एक हजार तलव दिने नत्र १८ सय तलव दिनै पर्ने व्यवस्था लागू भयो । कतारको श्रम मन्त्रालयले निकालेको एक रिपोर्टका अनुसार, यो व्यवस्था लागू भएपछि एक हजार रियाल भन्दा कम तलव पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलव पाउंन थालेका थिए ।
कोरोना महामारीको समयमा कामदारहरूलाई काम तथा आम्दानीमा कमी नआओस भनेर कतार सरकारले अनलाइन मार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेव पोर्टल तयार पार्यो । जसमार्फत दुई लाख ४२ हजार ८ सय सत्तरी जनाले कम्पनि परिवर्तन गरी काम सुचारू गरेका थिए ।

मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएको छ कामदारको सहुलियतको लागि कम्पनिले कन्ट्र्याक्ट समाप्त भएको सुचनादेखि नयां भर्तीसम्मका सबै सुचना अनलाइन मार्फत नै दिइएको थियो । अनलाइन फर्म भरेर कम्पनि परिवर्न गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।

आप्रवासी कामदारको हितमा कतारका सकारात्मक कदमहरु

आगामी वर्ष २०२२ को नोभेम्बर/डिसेम्बरमा फुटबल खेलको महामेला आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आइएलओको अफिस राजधानी दोहामा राख्न दिएर संगै काम गर्न थालेको हो । हुन त आइएलओको अफिस खुल्नुअघि नै कतारले आप्रवासी कामदार सम्बन्धि नीति नियममा परिमार्जन गर्न थालिसकेको थियो । आइएलओसंगको सहकार्यपछि भने कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्य मध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ ।

कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्ट भन्छ– कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ । उनीहरूको लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।

घरेलु कामदारलाई अन्य कामदार झैं व्यवहार गर्ने, सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोवासको व्यवस्था गर्ने लगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्न सक्ने अधिकार कतार सरकारले प्रदान गरेको छ । कतारी श्रम कानुनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउनका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवस्थामा रहेकाहरू लागि सेल्टरको व्यवस्था गरिएको छ ।

कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । कतारमै झण्डै चार लाख नेपाली घरेलु कामदार सहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।