अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अफगानिस्तानमा जारी अमेरिका नियन्त्रित हवाई उद्दार आगामी अगस्ट ३१ मा सकिएपछि पनि तालिवानले विदेशी तथा अफगानी नागरिकलाई अफगानिस्तान छोड्न दिने प्रतिवद्धता जनाएको बताउनु भएको छ ।
विदेशमन्त्री ब्लिङ्केनले वासिङ्टन र सहयोगीसँग तालिवानहरु आफैंले गरेको प्रतिवद्धतामा कत्तिको जिम्मेवार छ हेर्नुपर्ने बताउनु भएको छ ।
अफगानिस्तानमा जारी हवाई उद्दार तोकिएकै मितिमा पूरा गर्न अमेरिका प्रयासरत रहेको विदेशमन्त्री ब्लिङ्केनले बताउनु भयो ।
अझै पनि काबुल विमानस्थल भित्र र बाहिर हजारौं नागरिकहरु उडानको पर्खाइमा रहेका छन् । तालिवानले सत्ता कब्जा गरेको १० दिनको अवधिमा अफगानिस्तानबाट ८२ हजारभन्दा बढीलाई उद्दार गरिसकिएको छ ।
अमेरिकाले पछिल्लो २४ घन्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्दार गरेको छ । वेलायत र अन्य देशहरु पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिकका साथै आफूसँग काम गर्ने अफगानी कर्मचारीको उद्दार गरिरहेका छन् । बेलायतले हिजो मात्रै १२ सय जनाको काबुलबाट उद्दार गरेको छ ।
-रासस








