भारतमा बढ्दै संक्रमण, महाराष्ट्रमा कर्फ्यू र लकडाउन

news-details

एजेन्सी / कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको छ ।

महाराष्ट्रमा आजदेखि स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यू लागू हुनेछ । त्यसैगरी, सप्ताहान्तमा शुक्रवार राति आठ बजेदेखि सोमबार बिहान सात बजेसम्म पूर्णरूपमा लकडाउन लागू हुनेछ ।

लकडाउनको अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने बताइएको छ । सो अवधिमा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान सक्ने वा घर–घरमा खाना पुर्‍याउने कार्य भने जारी राख्न पाउनेछन् ।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन र सकेसम्म घरबाटै काम गराउन भनिएको छ । यी प्रावधान अप्रिल ३० तारिखसम्म लागू हुने जनाइएको छ ।

भारतमा आइतबार एकैदिन ९३,२४९ सयभन्दा बढी संक्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताकै सर्वाधिक संख्या हो । उक्त संख्याको आधा भन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा भेटिएका हुन् ।

भारतमा कोभिड–१९ का कारण हालसम्म करिब १ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमित पुष्टि हुनेको संख्या १ करोड २५ लाख नाघेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *