म्यानमारमा ‘कू’ यताकै ‘रक्तपातपूर्ण’ दिन, एकैदिन ३८ प्रदर्शनकारी मारिए

news-details

एजेन्सी / म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् ।

फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि भएका प्रदर्शनमा एकैदिन यति धेरै मानिस मारिएको यो पहिलो पटक हो । मृत्यु हुने ४ जना बालबालिकासमेत रहेको जनाइएको छ । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।

सुरक्षाकर्मीले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएका हुन् । मोनयूआ, यांगुन, मान्डले र मिइनजानमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको हो ।

म्यानमारका छिमेकी देशहरूले जुन्ता सरकारलाई संयमता अपनाउन आग्रह गरेकै अर्को दिन सुरक्षाकर्मीहरूले देशका विभिन्न सहरमा प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । गत आइतवारको हिंसामा पनि म्यानमारमा १८ जना मारिएका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बुधबारको प्रदर्शनमा सहभागी भएकाहरूमध्ये सयौंलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

‘फेब्रअरी १ मा सेनाले सत्ता लिएपछि आज सबैभन्दा रक्तपातपूर्ण दिन भयो । आजमात्र ३८ मानिसले ज्यान गुमाए। कूपछि अहिलेसम्म ५० बढी मानिस मारिएका छन् र कैयौं घाइते भएका छन्,’ म्यानमारका लागि संयुक्त राष्ट्र संघका महासचिवकी विशेष प्रतिनिधि क्रिस्टिन स्च्रानर बर्जनरले भनिन् ।

बर्जनरले आफूले सेनाका उपप्रमुखसँग कूपछि सेनाले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबन्ध भोग्नुपर्ने एक्लिनु पर्ने चेतावनी दिएको बताइन् । सेनाका उपप्रमुखले पहिला पनि प्रतिबन्ध भोगेकाले त्यसले फरक नपार्ने र आफूहरूले केही मित्र राष्ट्रहरूसँग मात्र सम्बन्ध बनाएर अघि बढ्न सिकिसकेको जवाफ दिएको उनले बताइन् ।

यस्तै अमेरिकाले पनि म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ । म्यानमारको अवस्थाबारे छलफल गर्न शुक्रबार राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बस्दैछ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *