ट्रम्पमाथि महाअभियोग लगाउने डेमोक्र्याट्सहरुको तयारी

news-details

अमेरिकी डेमोक्र्याट्स सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पका समर्थकले गत साता अमेरिकी संसद भवनमा प्रवेश गरेर हिंस्रक गतिविधि गरेको भन्दै संसदका दुवै सदनले महाअभियोग लगाउने तयारी गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन गरेर बर्खास्त नगरे महाअभियोग लगाउने तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चेतावनी दिनुभएको हो । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो एक सय दिनको समयावधिमा कोरोना भाइरसविरुद्धका मुख्य नीतिहरु अवलम्बन गर्ने बताइएको छ ।

नयाँ मन्त्रीमण्डल गठन भएलगत्तै राष्ट्रपति बाइडेनले आफ्ना महत्वाकांक्षी योजनाहरु अघि सार्ने बताइएको छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनको अन्तिम परिणाम आएपछि नयाँ राष्ट्रपतिले कार्यकाल सम्हाल्नुअघि बहालवाला राष्ट्रपतिले दैनिक प्रशासनिक काम मात्र सञ्चालन गर्न पाउने कानुनी मन्यता छ ।

तर राष्ट्रपति ट्रम्पले पछिल्ला दिन गरेका केही निर्णयहरु विवादास्पद र दूरगामी असर पर्ने खालका रहेको भन्दै डेमोक्र्याटहरु महाअभियोग लगाउने चेतावनी दिएका हुन् । विशेषगरी चुनावी परीणामलाई लिएर राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाएपछि उहाँको सर्वत्र विरोध भएको थियो ।

सोही क्रममा उपराष्ट्रपति माइक पेन्सले बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने क्रममा आफ्नो समर्थकलाई उक्साएर संसद भवनमा अनाधिकृत रुपमा प्रवेश गराएर दंगा फैलाएको ट्रम्पमाथि आरोप छ । सो झडपमा परेर ६ जनाको मृत्यु भएको छ ।

अमेरिकामा यसअघि २ जना बहालवाला राष्ट्रपतिमाथि महाअभियोग लगाइएको छ । ट्रम्पमाथि यसअघि गत वर्ष पनि महाअभियोग लगाउने प्रक्रिया अघि बढाइएको थियो । यसैबीच बाइडेनको सपथ समारोहमा उपराष्ट्रपति माइक पेन्स सहभागी हुने बताइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै समारोहमा सहभागी नहुने घोषणा गरिसक्नु भएको छ ।

-एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *