श्रीलङ्का विष्फोट :  मृत्यु हुनेको संख्या २ सय ९० नाघ्यो, शंकास्पद २४ जना पक्राउ

news-details

एजेन्सी / श्रीलङ्कामा भएका शृंखलाबद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २ सय ९० नाघेको छ । राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या सोमबार बिहानसम्म २ सय ९० नाघेको प्रहरी प्रवक्ता रूवान गुनशेकराले पुष्टि गरे ।

घटनामा परी ३५ जना भन्दा बढी विदेशी नागरिकको समेत मृत्यु भएको बताइएको छ । ५ सय जनाभन्दा बढी घाइते भएका कोलम्बो प्रहरीले जनाएको छ । घटनामा घाइते भएकामध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन् ।

घटनामा संलग्न रहेको आशंकामा हालसम्म २४ जना पक्राउ परेका बताइएको छ । तर, उनीहरुको बारे थप केही प्रष्ट पारिएको छैन ।

देशमा भएको सशस्त्र युद्ध सकिएको एक दशकपछि श्रील‌ंकामा यति धेरैको संख्यामा मानवीय क्षति हुने गरी घटना भएको हो ।

घटनाबारे भ्रम फैलाउने अवस्था सृजना भएपछि देशभर सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपमा प्रतिबन्ध लगाइएको छ ।

विष्फोट गराइएका चर्चहरुमा राजधानी कोलम्बोस्थित सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च लगायत छन्। राजधानीका तीनवटा पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट गराइएको हो ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस बसोबास गर्छन् । गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ।

बिहान ६ स्थानमा बम विस्फोट गराइएकोमा दिउँसो पुनः २ स्थानमा बम विस्फोट भएको थियो ।

यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *