इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

news-details

जकार्ता, इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो ।

अमेरिकी जियालजिकल सर्भेका अनुसार भूकम्पको गहिराई जमिनको सतहबाट ७ किलोमिटर मुनि रहेको थियो । लोम्बोक जिल्लाको पूर्वी भेग सबैभन्दा बढी प्रभावित रहेको थियो जहाँ आठ जनाको मृत्यु भएको इन्डोनेसियाली विपद् पुनरुद्धार संस्थाले जनाएको छ । ठूलै संख्यामा भवनहरुमा क्षति पुगेका कारण मर्नेको संख्या अरु बढ्न सक्ने सो संस्थाले जनाएको छ ।

करिब १० सेकेन्डसम्म गएको उक्त भूकम्पको धक्का प्रान्तीय राजधानी मातारामसम्म अनुभव गरिएको थियो । भूकम्पकै कारण माउन्ट रिन्जानीको आसपास पहिरो गएको छ । स्थानीय अधिकारी नुग्रोहोका अनुसार भूकम्पको धक्का अनुभव गर्नासाथ मानिसहरु घरबाट बाहिर निस्कनुका साथै भागदौड मच्चिएको थियो ।

इन्डोनेसियाको बाली झैं लोम्बोक पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण सामुद्रिक तट र पहाडले सुपरिचित छ । इन्डोनेसिया भूकम्पीय खतराको सूचीमा रहेको मुलुक हो । डिसेम्बर २००४ मा सुमात्रा आसपास ९.१ म्याग्नीच्यूडको ठूलो भूकम्प गएको थियो । उक्त भूकम्पबाट सिर्जित सुनामीका कारण करिब एक दर्जन मुलुकका २३,००० जनाको ज्यान गएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *