लाङटाङ क्षेत्रमा बाह्य पर्यटक बढे

news-details

नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

दशैं पर्व सकिन लागेसँगै यस क्षेत्रको प्राकृतिक अवलोकन गर्न सुहाउँदो मौसम तथा कोभिडका कारण बन्द रहेका होटल तथा लज पुर्ण रुपमा सञ्चालन हुनु र पदमार्ग सुरक्षित हुनाले पनि अहिले आन्तरिक तथा बाह्य गरी दैनिक सरदर करिब पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भुपेन्द्र यादवले जानकारी दिए ।

लाङटाङ क्षेत्रमा भूकम्प पछि असामान्य भएको स्थानीयको दैनिकी पनि अहिले पुरानै अवस्थामा फर्किएको छ भने यस क्षेत्रका स्थानीयहरु अहिले पर्यटन प्रवर्द्धनमा केन्द्रित हुँदै गएका छन । २०७२ सालको भूकम्प अघि वार्षिक सत्र हजार बाह्य पर्यटकले भ्रमण गर्ने लाङटाङ क्षेत्रमा अहिले बाह्य पर्यटकसहित आन्तरिक पर्यटकको आवागमन बढेको हो ।

लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकहरुसँग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्‍न थालिएको निकुञ्जले बताएको छ । निकुञ्जले स्वदेशी पर्यटकसँग एक सय रुपैयाँ र बिदेशी पर्यटकहरुसँग तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ ।

यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तूरी मृग लगायत जीवजन्तु रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग भित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने छन् ।

काठमाडौंबाट छोटो र सजिलो पदमार्ग मध्येको लाङटाङ पदमार्ग रहेकाले छोटो समयमै ५ हजार मिटर अग्ला दर्जनौँ हिमाल देखिने भएकाले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । लाङटाङ र क्यान्जेन उपत्यकामा साना र ठुला गरि ४९ वटा होटेल सञ्चालनमा रहेका छन् ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *