पर्यटकको आकर्षण बढाउन थारु संग्रहालय निर्माण

news-details

कञ्चनपुर, पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी (भल्का) मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ ।

काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले रु छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि वडा कार्यालयले रु दुई लाख र स्थानीय बासिन्दाले रु चार लाख बढीको श्रमदान गरेका छन् । भवनसँगै पर्यटकीय क्षेत्रमा दुई वटा पक्की शौचालयसमेत निर्माण गरिएको छ ।

‘संग्रहालय भवन निर्माण भएकाले थारु समुदायका संस्कृति झल्किने परम्परागत पहिरन, गहना, रहनसहनसँग सम्बन्धित वस्तु, कृषिमा प्रयुक्त हुने परम्परागत सामग्रीलगायत पर्यटकका लागि राख्न लागेका छौँ’, वडाध्यक्ष बहादुर महराले भने ।

अर्को वर्षदेखि पर्यटकका लागि संग्रहालय खुला गर्ने योजना रहेको उनले बताए । संग्रहालयमा राख्ने वस्तुको जोरजम्मा गर्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको छ ।

संग्रहालय क्षेत्रमा वाटर पार्क निर्माण गर्ने, सौर्यबत्तीको व्यवस्था गर्ने र फ्रि वाइफाइको व्यवस्था गर्ने योजना बनाइएको छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने ग्राभेल सडकको निर्माण कार्य पूरा गरिएको छ ।

सडकको स्तरोन्नति नहुँदा यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । वडाध्यक्ष महराले भने, ‘पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक निर्माणलाई पहिलो वर्षमै प्राथमिकतामा राखेपछि आन्तरिक पर्यटक आवागमनमा निकै वृद्धि भएको छ ।’

वर्षमा दुई हजारदेखि तीन हजार ४०० बढीको संख्यामा यस क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।

हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ । कुण्डमा रहेको पानी आफैँ माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीय बासिन्दा बताउँछन् ।

पहिले कुण्डमा रहेको पानी दुई फुटमाथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पुगाएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुंगाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको छ । कुण्डमा रहेको पानी अनौठो तरिकाले उफ्रिने गरेको हेर्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ ।

दैनिक औसतमा ५० बढी आन्तरिक पर्यटक यस क्षेत्रको अवलोकनका लागि पुग्ने गरेका छन् । पिकनिकका लागि पानीको पर्याप्तता र यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि पर्यटक यहाँ पुग्द छन् । माघे संक्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

मेलामा आउनेले कुण्डमा नुहाएमा सबै पाप कर्म नास हुने र चर्मरोग हटेर जाने विश्वासका साथ यहाँ पुग्ने गरेको स्थानीय ढुण्डीराज भण्डारीले बताए ।

यस क्षेत्रप्रति थारु समुदायको अगाव श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँशी, माघेसंक्रान्ति बेला यस क्षेत्रमा पुगी पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् । पौराणिककालदेखि यस क्षेत्रले धार्मिक मान्यता पाउँदै आएको छ । रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *