काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। नयाँ वर्गीकरणअनुसार खेलाडीहरूलाई ‘ए प्लस’, ‘ए’, ‘बी’, ‘सी’ तथा विकास (डेभलपमेन्ट) समूहमा विभाजन गरिएको छ।
पुरुषतर्फको ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। उनीहरूलाई क्यानको सबैभन्दा उच्च श्रेणीमा राखिएको हो।
त्यस्तै ‘ए’ श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी समावेश छन्। ‘बी’ समूहमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहेका छन्।
‘सी’ श्रेणीमा अनिल साह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेस बम, साहब आलम, शेर मल्ल र सन्दीप जोरा परेका छन्।
यस्तै विकास समूहमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रासिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जीसी रहेका छन्।
महिलातर्फ ‘ए’ समूहमा इन्दू वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर परेका छन्। ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय छन् भने ‘सी’ मा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा रहेका छन्।
त्यस्तै विकास समूहमा रोमा थापा, सुमन विष्ट, इश्वरी विष्ट, सोनी पाख्रिन, साना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा विष्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्माचार्य र रचना चौधरी समावेश छन्।
क्यानका अनुसार नयाँ वर्गीकरणसँगै खेलाडीहरूको मासिक पारिश्रमिक पनि निर्धारण गरिएको छ। पुरुषतर्फ ‘ए प्लस’ खेलाडीले १ लाख २० हजार, ‘ए’ ले १ लाख, ‘बी’ ले ७५ हजार, ‘सी’ ले ५५ हजार र विकास समूहका खेलाडीले ३५ हजार रुपैयाँ मासिक पाउनेछन्।
महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीलाई ५५ हजार, ‘बी’ लाई ४० हजार, ‘सी’ लाई ३० हजार र विकास समूहका खेलाडीलाई २५ हजार रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ।
त्यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रति खेल १० हजार रुपैयाँ र एकदिवसीय खेलमा १५ हजार रुपैयाँ म्याच फी प्रदान गरिने क्यानले जनाएको छ।








