काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले अविजित शतक प्रहार गरे । उनले ११८ बलमा ४ छक्का र १३ चौकासहित १२० रन बनाए ।

यस्तै, आसिफ शेखले ५८ रन बनाउँदा इशान पाण्डेले अविजित २० रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । अमेरिकाका लागि स्मित पटेलले ८३ रन र शेहान जयसुरियाले ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

अमेरिकालाई अलआउट गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट लिएका थिए ।