काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईमाथि ६ रनको संघर्षपूर्ण जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।
यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाएपछि जितका लागि पर्याप्त हुन सकेन । शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सिंहले ४१ रन बनाए । आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।
बलिङमा नेपालका सन्दीप लाछिमानेले ३, सोमपाल कामी र नन्दन यादवले दुई-दुई तथा नन्दन यादवले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे। यस्तै, विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे।
बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए।
यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो।








