काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो ।
इटलीका मोस्का दाजुभाई (एन्थोनी र जस्टिन) दुवैले ११औं ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा १२३ रनमा अलआउट भएको हो ।
इटलीको स्पीनरको उत्कृष्ट बलिङ सामु नेपाली ब्याटरहरुले संघर्ष गर्दा पूरा ओभर समेत ब्याटिङ गर्न सकेन ।
नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् । करण केसीले केमियो इनिङ्स खेल्दै अविजित १८ रन जोड्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।
नेपालबाट आशा गरिएका ओपनर कुशल भुर्तेल र पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गरेका लोकेश बम इटली विरुद्ध चल्न सकेनन् । दुवै जना सिंगल डिजिट स्कोरमा आउट भए ।
पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गर्दै सबैको प्रशंसा पाएका लोकेश बम आज ५ बल खेल्दै ३ रन बनाएर आउट भए । गुल्सन झा ४ बलमा ३ रन बनाएर आउट भए । सोही ओभरमा नन्दन यादव खाता नखोली रनआउट भए । त्यसपछि करण केसी र सन्दीप लामिछानेले २१ रनको साझेदारी गरे । करणले ११ बलमा अविजित १८ रन जोडे ।
नेइटलीका लागि लेगस्पीनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । बेन्जामिन मानेन्टीले२ विकेट लिए ।








