नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल नजिक पुगेर अभागी साबित भएको हो ।
छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।
साबित्रा भण्डारीको प्रहार बारमा लाग्दा गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाइन् ।
उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो ।
२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । तर ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।
दोस्रो हाफको ७०औं र ७१औं मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।








