हालसालै मात्र नवौ प्रधानमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी चुमेको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले प्याराडाइज इन्टरनेशनलका अध्यक्ष नवराज केसीलाई मायाको चिनोसहित सम्मान गरेको छ । पाच पटकसम्मको प्रधानमन्त्री कप च्याम्पियन हेल्प नेपालले क्लबलाई सहयोग गरेवापत केसीलाई सम्मान गरेको हो ।
मायाको चिनो ग्रहण गर्दै प्याराडाइजका अध्यक्ष केसीले भने, ‘यस्ता प्रतियोगितामा युवाहरूको सहभागिता र सफलताले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाउनेछ । हामीले जुन सानो सहयोग गरेका थियौं, त्यसले यस्तो ठूलो उपलब्धिमा टेवा पुर्याएको देख्दा गर्व लागेको छ ।’
युवा व्यवसायीहरुको समूहले स्थापना गरेको हेल्प नेपाल स्पोर्टस क्लबका अध्यक्ष वासुदेव श्रेष्ठले सहयोगी सबैलाई धन्यवाद दिदै भने, ‘प्याराडाइज इन्टरनेशनलको साथले हामीले राष्ट्रिय उपाधि जित्न सफल भयौं, आगामी दिनहरूमा पनि सबैको साथ, सहयोग र उत्साहले हामी अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट नतिजा ल्याउनेछौं भन्ने आशा गरेका छौं । हाम्रो क्लब युवा प्रतिभालाई निखार्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई चिनाउन कटिबद्ध छ ।’
प्रधानमन्त्री कपको उपाधिसँगै माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा छनोट भएको हेल्प नेपालले अहिले त्यसको लागी तयारी गरिरहेको छ । क्लबका प्रशिक्षक, व्यवस्थापक तथा खेलाडीहरू हाल माल्दिभ्स यात्रा र तयारीमा व्यस्त छन् । ‘नेपालको झण्डा अन्तर्राष्ट्रिय मैदानमा फहराउने’ लक्ष्यसहित टोली पूर्ण तयारीमा लागेको छ’ अध्यक्ष श्रेष्ठले बताए ।
१४ राष्ट्र सहभागी ‘काभा मेन्स च्याम्पियन लिग’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने एक मात्र क्लबका रूपमा हेल्प नेपालले अवसर प्राप्त गरेको हो । गत वर्ष नेपालमा आयोजना भएको काभा क्लब च्याम्पियन्समा हेल्प नेपाल र गण्डकीले सहभागिता जनाएका थिए ।








