फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबिचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोल गरे । योसँगै ७–७ अङ्कसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । फाइनल खेल बुधबार हुनेछ ।

खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । खेलको ११औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सवित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् ।

पुनः खेलको १६औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ४१औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रोपटक बराबरी गोल फर्काएकी थिइन् । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।