श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । पराजित भएसँगै समूह ए बाटै बाहिरिएको छ ।

पहिलो खेलमा युएईलाई पराजित गरे पनि त्यसपछिका दुई खेलमा लगातार हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालकी सीता रानामगरले सर्वाधिक १८ रन जोडिन् । बलिङमा भारतकी दिप्ती शर्माले सर्वाधिक सर्वाधिक ३ विकेट लिइन् ।

यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।

भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् भने हेमलता ४७ रन बनाएर आउट भइन् । सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिएका थिए ।

हारसंगै नेपालले एसिया कपको यात्रा टुंगाएको छ । पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो ।