क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन । फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो ।

टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।