नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । जारी शृंखलामा नेपालले यो सान्त्वना जित हासिल गरेको हो । तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो ।
२१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा सर्वाधिक ६८ रन बनाए भने मोर्गन टोपिङले ३७ बलमा ६० रन बनाए । आयरल्यान्ड ए का लागि ओपनर रस आडैर ३१ र फिन ह्यान्ड २२ रनमा आउट भए ।
नेपालको जितमा विपिन खत्रीले ३ विकेट लिए भने नारायण जोशी, कमलसिंह ऐरी र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।
नेपालको जितमा आरिफ शेखले ४७ बलमा ९३ रनको अविजित इनिङ खेलेका थिए । नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो । यसपछि ब्याटिङमा आएका बसिर अहमदलले १९ रन, पवन सरार्फले १३ रन बनाए भने नारायण जोशी १ रनमा आउट भए । यस्तै आक्रामक पारी खेल्ने क्रममा कमलसिंह ऐरीले ७ बलमा १९ रन जोडे भने राशिद खानले १३ बलमा २४ रन जोडेका थिए ।
आयरल्यान्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १-१ विकेट लिए ।
आयरल्यान्ड ए र नेपाल ए बीच अव एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।








