नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।
जितको लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै प्रतिश जि.सीले २ विकेट, गुलशन झा र आकाश चन्दले १-१ विकेट लिए ।
त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा सर्वाधिक ५९ रनका थिए ।
सन्दीप जोराले २६ बलमा ५६ रन बनाएका थिए । यस्तै विनोद भण्डारीले २७, आरिफ शेखले ४, लोकेश बमले १४ रन प्रआर गरे भने विवेक यादव १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे ।
पपुवा न्युगिनीका असाद भालाले २ विकेट, नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १–१ विकेट लिए ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले केहि समयपछि आज नै हङकङसँग नै खेल्दैछ । जसको विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।








