त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । अभिनास बोहराले एकएक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । यस्तै आरिफ शेखले ३१ रन, अनिल साहले २३ रन, गुल्शन झाले २६ रन, दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

बलिङमा नामिबियाका बेन शिकोन्गोले ३ विकेट लिए भने ज्याक ब्रासेलले २ विकेट हात पारे।