एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मलेसियाले नेपाललाई चार विकेटले पराजित गरेको छ । योसँगै नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भएको छ ।
नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।
योसँगै मलेसिया यो वर्ष आयोजना हुने टी–२० एसिया कपमा पनि छनोट भएको छ । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै एसिया कपमा स्थान पक्का गरिसकेको छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आएका दुई टोली सहभागी हुनेछन् ।
मलेसियाको जीतमा एल्सा हन्टरले ५३ बलमा ६९ रनको शानदार पाली खेलिन् । उनलाई महिरा इस्माइलले १६ तथा मास एलिसाले १३ रन बनाउँदै साथ दिए ।
नेपालका लागि कविता जोशी र सीता रानामगरले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यस्तै ओपनर कविता कुँवरले २३ रन, रुबिना क्षेत्रीले २० रन बनाइन् ।
खेलको अन्त्यतिर डली भट्टले विस्फोटक पाली खेलिन् । उनले रनआउट हुन अघि १४ बलमा २५ रन बनाइन् ।
मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् ।








