नेप्लिज क्रिकेट एशोसिएशन अफ वेष्टर्न अष्ट्रेलिया (एनसीएडब्लुए)ले आयोजना गरेको क्रिकेट लिगका विजेता खेलाडीलाई अवार्ड तथा पुरस्कार हस्तान्तरण गरिएको छ । एनसीएडब्लुए क्रिकेट लिगका विजेता खेलाडीको सम्मानमा फेब्रुअरी २ तारिख शुक्रवार पर्थमा आयोजित गाला डिनरसहितको कार्यक्रममा अवार्ड हस्तान्तरण गरिएको हो ।
गत अक्टोबर १ देखि डिसेम्बर ३१ सम्म भएको एनसीएडब्लुएको पाँचौ लिगमा विजेता टिम पर्थ ब्लास्र्टज क्रिकेट क्लव तथा उपविजेता टिम नेपाली वारिएर्स क्रिकेट क्लवलाई ट्रफिसहित पुरस्कार हस्तान्तरण गरिएको छ । वेष्टर्न अष्ट्रेलियामा रहेका १२ वटा नेपाली क्रिकेट क्लव सहभागी रहेको लिगमा पर्थ ब्लास्र्टज क्रिकेट क्लवले उपाधी चुमेको थियो । उपाधि चुमे संगै पर्थ ब्लास्र्टज क्रिकेट क्लवले नगद पुरस्कार १ हजार डलर पनि जित्न सफल भएको छ।

प्रत्येक बर्षजस्तै क्रिकेट खेलाडी, क्लव तथा स्पोन्सरहरुको सम्मानमा गाला डिनरसहितको कार्यक्रम आयोजना गरिएको एनसीएडब्लुएका अध्यक्ष मनिश चौधरीले जानकारी दिए । ‘खेलकुदबाट नेपालीहरुमा जोड्न र लुकेको स्किल देखाउनका लागि प्रत्येक बर्ष क्रिकेट लिग आयोजना गरिदै आएको छ’ अध्यक्ष चौधरीले भने–‘ सवैको सहयोग र सहकार्यबाट लिग सफलतापुर्वक सम्पन्न भयो ।’
गैरआवासीय नेपाली संघ आइसीसीका सल्लाहकार तथा नेपाली समाज पर्थका अग्रज भैरव ढकालले नेपालीहरुको एकतामा खेलकुद आवश्यक भएको जनाउँदै एनआरएनएले पनि खेलकुदको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
गैरआवासीय नेपाली संघ वेष्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले नेपाली समाजमा सबैको सहकार्यले मात्र हरेक कार्यक्रम सफल हुने बताए । उनले एनआरएनएले अवसरको खोजी तथा प्रतिभाको भेलाका लागि हार्मोनी कप आयोजना गर्न लागिएको जानकारी गराए ।

एनआरएनए संयोजक घिमिरेलगायत कार्यक्रममा उपस्थित अतिथिहरुले उत्कृष्ट तथा विजेता खेलाडीलाई सम्मानसहित अवार्ड प्रदान गरेका थिए भने एनसीएडब्लुएका पदाधिकारीले स्पोन्सरहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
एनसीएडब्लुएका सचिव बसन्त खातीले अहिले गरिरहेको कार्य र भावी रणनीतिका बारेमा प्रकाश पारेका थिए |
कार्यक्रमको समापन उपाध्यक्ष पुष्पमणि बोहोराले गरेका थिए भने एनसीएडब्लुए कोषाध्यक्ष नवराज भट्टराईले कार्यक्रमको सहजिकरण गरेका थिए ।








