आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।
यता, बङ्गलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।
यसैबीच आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबार सम्पन्न सुपर सिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।
नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।
सुपर सिक्सको समूह १ मा भारत र पाकिस्तानको ६-६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजील्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शुन्य अंक रहेको छ ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हाँसिल गर्दै सुपर सिक्समा पुगेपनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिँदा नेपाल अंक विहीन भएको हो ।
अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भएपनि सेमिफाइनल पुग्न असफल हुनेछ । योसँगै नेपाल सुपर सिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।








