सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन् ।  यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्।

बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ७ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भयो।

एपिएफका लागि इन्दू बर्माले ५३ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरिन्। ओपनर ज्योती पाण्डेले २७ रन र रोमा थापाले १४ रन बनाए।

एपिएफका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा कोशीकी बेगमले ह्याट्रिक गर्दै ३ विकेट लिँदा एलिसा खडियाले २ विकेट लिइन्।