एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।
झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकणर्ीले अविजित ४३ रनको योगदान गरे ।
जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ ।
त्यसअघि यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले अत्यन्तै फितलो ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको तर्फबाट दीपक बोहराले १ रन जोडदा उत्तम थापामगरले खाता नै खोल्न सकेनन । यस्तै ओपनर ब्याट्सम्यान अर्जुन कुमाल ७ रन बनाउँदै पेभेलियन फर्किएका थिए भने कप्तान देब खनालले २ रन, दीपक डुम्रे शून्य रन, गुल्सन झाले ४ रन, दीपक बोहराले ७ रन, दीपेश कँडेलले ४ रन, सुवास भण्डारीले २ रन लिए । नेपालको अन्तिम विकेटका रुपमा हेमन्त धामी ८ रन बनाउँदै आउट भएका थिए भने आकाश चन्द चार रनमा अविजित रहे ।
भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिएका थिए भने आराध्य शुक्लाले दुई विकेट र आर्सिन अतुल कुलकर्णीले एक विकेट लिएका थिए ।








