यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हरायो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । तर, अर्को इन्डबाट लगातार विकेट खसिरहँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन ।

नेपाल ४०.१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । उनले १०८ बलमा १३ चौका प्रहार गरेका थिए ।

कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १ सय ५२ बलमा १ सय ६ रन बनाए ।  उनले आठ चौका प्रहार गरे ।

त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए ।

नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिए ।

आजको हारसँगै नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ । नेपालले अन्तिम खेल भारतसँग खेल्ने छ ।