त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा आज बुधबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । मुलपानि रंगशालामा हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

टी २० विश्वकप अघि तयारीका रूपमा हेरिएको सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा छ ।

पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, गुल्सन झा र सोमपाल कामी छन् । करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव र सागर ढकाल पनि टिममा परेका छन् ।

यस्तै, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र मौसम ढकालले पनि टोलीमा स्थान बनाएका छन् ।

सिरिजमा नेपाली स्पीनर सन्दीप लामिछानेले भने खेल्ने छैनन् । उनले यसअघि नै नाम फिर्ता लिएकाले उनी यस सिरिजमा खेल्ने छैनन् ।

क्यानका सचिव पारस खड्काले त्रिकोणात्मक सिरिजको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने र बाँकी खेल मुलपानीमा हुने जानकारी गराएका छन् ।

नेपालले कात्तिक २ गते हङकङसँग, कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र युएई कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् ।

अंकतालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।