नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ।
यसअघि साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो।
अघिल्लो सुनुवाइमा सन्दीपले अदालतमा पेस गरेको पीडितको जन्म दर्ताको वैधानिकतामाथि प्रश्न उठेको छ।
सन्दीप आफैंले पेस गरेको जन्मदर्ता कहाँबाट आयो भन्ने कुरा उनी आफैंलाई थाहा नभएको बताएका थिए।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको टुंगो लगाउनु भनेपनि जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुनै सकेको छैन।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
उनी सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।








