रोयल नेपाल गल्फ क्लबमा आवद्ध क्याडि तथा सहयोगीहरुलाई सेभेन समिट फाउण्डेशनले जिवन विमा गरिदिएको छ । लामो समयदेखि क्लबमा आवद्ध रहेर कार्यरत उनीहरुलाई भैपरी हुने दुर्घटना तथा विरामीमा सहजता होस भनेर विमा गरिदिएको फाउण्डेशनले जनाएको छ ।

रोयल नेपाल गल्फ क्लबको एयरपोर्टस्थित कार्यालयको प्रांगनमा एक कार्यक्रमकाबीच फाउण्डेशनका अध्यक्ष एसी शेर्पाले क्लबमा आवद्ध क्याडी तथा सहयोगीहरुको विमा हस्तान्तरण गरेका हुन । आइजिआई प्रुडेन्सियल इन्सुरेन्समा क्लबमा आवद्ध करिब ९० जनाको स्वास्थ्य तथा जिवन विमा गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

गल्फ क्लबका क्याडी तथा सहयोगीहरुलाई सेभेन समिटले गरिदियो जिवन विमा

नेपालकै सवैभन्दा पुरानो र एक शताब्दीभन्दा लामो इतिहास बोकेको क्लबमा आवद्ध क्याडी तथा सहयोगीहरुलाई सानै भएपनि सहयोग उपलब्ध गराउन पाएकोमा सेभेन समिटका प्रमुख सल्लाहकारसमेत रहेका एनआरएनएका सल्लाहकार, रोयल नेपाल गल्फ क्लब र गोकर्ण गल्फ क्लबका सदस्य तथा विश्वको सबैभन्दा उच्च स्थानमा आयोजित गल्फ प्रतियोगीताको किर्तिमानी विजेता खेलाडी श्याम तामाङले खुसी व्यक्त गरे ।

गल्फ खेलाडिसँग सधैव साथमा रहने क्याडी तथा सहयोगीहरुको सुरक्षाका लागि यो इन्सुरेन्सले सहयोग पु¥याउने अपेक्षा लिएको बताउदै तामाङले भने –‘विहानदेखि बेलुकासम्म गल्फ खेलाडीसँगै रहने उहाँहरु इन्सुरेन्सबाट बञ्चित हुन नपरोस् भनेर हामीले यो सहयोग गरेका हौ, अब उहाँहरु १० लाख बराबरको दुर्घटना विमा र १ लाख बराबरको औषधी उपचार विमामा समेटिनु भएको छ, फाउण्डेशनले यसको ५ वर्षसम्मको नविकरण पनि गर्नेछ ।’

नेपालको पहिलो गल्फ कोर्स रोयल नेपाल गल्फ क्लबले सन् १९१७ देखि समुदायलाई सेवा प्रदान गर्दै आएको बताउदै तामाङले यसमा प्रत्यक्ष संलग्न ५४ क्याडी, १४ रेस्टुरेन्ट÷सपोर्ट स्टाफ र २२ कोर्स मेन्टिनेन्स स्टाफको सुरक्षाका लागि विमा प्याकेजमा अवद्ध गराइएको बताए ।

विश्वका सबैभन्दा अग्लो सातवटा हिमालको सफल आरोहणको किर्तिमानपछि फाउण्डेशनको माध्यमबाट सामाजिक क्षेत्रमा अघि बढेका सेभेन समिटका अध्यक्ष एशी शेर्पाले सन् २००६ देखिनै विशेषगरी हिमाल आरोहणमा सघाउने सहयोगीहरुलाई विभिन्न सहयोग पु¥याउनुका साथै नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कार्य गरिरहेको बताए ।

गल्फ क्लबका क्याडी तथा सहयोगीहरुलाई सेभेन समिटले गरिदियो जिवन विमा

पछिल्लो समय आफ्नो १६ वर्षिया छोरीको इच्छा अनुसार सगरमाथाको चुचुरोसम्म आरोहीहरुलाई पु¥याउने खुम्बु आइसफल डक्टरहरुको इन्सुरेन्स र लत्ताकपडामा सहायता जुटाउन फण्डिङ गरिरहेकोमा त्यसै क्रममा गल्फ क्लबमा आवद्ध क्याडीहरुको इन्सुरेन्सका लागि पनि सहायता उपलब्ध गराएको बताए । यसअघि शेर्पाको छोरीले अमेरीकामा आफ्ना साथीहरुसँग मिलेर बाटोमा सामान बेचेर प्राप्त फण्डिङले ड्राइभरका बच्चाहरुको पठनपाठनमा सहायता उपलब्ध गराएकी थिइन ।

आफु स्वयं पनि गल्फ खेल्न रुचाउने शेर्पाले यसमा आवद्ध सहयोगीहरुको दुःख देख्न नसकेर सहयोगको भावना पलाएको बताए । ‘उहाँहरुको रेगुललर जब पनि होइन, पालो पर्खेर थोरै ज्यालामा काम गरिरहेको देख्दा एकदम दुःख लाग्यो’ शेर्पाले भने ‘आइसफल डक्टरहरुलाई फण्डिङ गरिरहदा यहाँका क्याडीहरुको दुःखले एकाएक तान्यो, त्यही भएर हामी बार्ड मेम्बरहरु बसेर इन्सुरेन्स गरिदिने निर्णयमा पुगेका हौ ।’

गल्फ क्लबका क्याडी तथा सहयोगीहरुलाई सेभेन समिटले गरिदियो जिवन विमा

सो अवसरमा रायल नेपाल गल्फ क्लबका क्याडीहरु र सहयोगीहरुले सेभेन समिटका अध्यक्ष एसी शेर्पा तथा प्रमुख सल्लाहकार श्याम तामाङलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरेका थिए ।

नेपालमा मात्र नभएर अफ्रिका, अर्जेन्टिनालगायतका देशमा पनि सामाजिक कार्यमा सहायता गर्दै आएको सेभेन समिटले नेपालमा विद्यालय भवन निर्माण, हरेक वर्ष स्वास्थ्य शिविर संचालनलगायतका कार्य गर्दै आएको छ । गत वर्ष मात्र फाउण्डेशनले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित टापटिङमा ४५ लाख सहयोगमा बर्थिङ सेन्टर निर्माण गरेको थियो ।