एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।

रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हरिसले गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका खेलाडीहरु छन् ।

अनुभवी पाकिस्तान विरुद्ध नेपालले आफ्नो परीक्षण गर्नेछ । इमर्जिङ कपको साविक विजेता पाकिस्तान ‘ए’ पहिलो खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्यमा छ ।

नेपालले दोस्रो खेल भारतको ‘ए’ टिमसँग साउन १ मा खेल्नेछ। यस्तै युएईको ‘ए’ टिमसँग नेपालको खेल  साउन ३ मा हुनेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

प्रतियोगिता खेल्न जानुअघि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानको टोलीमा अनुभवी खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । श्रीलंका पुगेपछि रोहितले नेपाली खेलाडीका लागि यो प्रतियोगितामा राम्रो अवसर भएको भन्दै हरेक खेल खेल्दा जितको मानसिकतासहित खेल्ने पनि बताएका छन् ।