आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित हुन बाध्य भएको हो
जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५ रन र अर्का ओपनर आसिफ शेखले २८ रन बनाए भने गुल्सन झाले ४२ रन, आरिफ शेखले ६३ रन, कप्तान रोहित पौडेलले ३० रन, भीम सार्कीले २ रन, दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने करन केसीले २८ रन बनाए ।
त्यसअघि, वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले । वेष्ट इण्डिजका ओपनर केल मायर्सले १ रन बनाएका थिए भने जोन्सन चार्ल्स शुन्यमै आउट भए । यस्तै ब्रेन्डन किंगले ३२ रन बनाउदा निकोलस पुरनले ११५ रन र साई होपले १३२ रन बनाए । इनिङ्सको अन्तिम बलमा कीमो पाउल १ रनमा बोल्ड आउट भए भने जेसन होल्डर १६ रनमा अविजित रहे ।
बलिङमा ललितले ३ तथा करण, गुल्सन, सन्दीप र दीपेन्द्रले एक–एक विकेट लिए ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
आउने अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने आशा जीवित राख्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेर सुपर सिक्समा पुग्नुपर्छ ।








