एसिसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो।

४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यान चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो ।

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे । कुल १०८ रन बनाएका उनले ६९ बलमै शतक बनाएका हुन् । आफ्नो एकदिवसीय करियरकै पहिलो शतक प्रहार गरेका उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

यस्तै सोमपाल कामीले पनि उत्कृष्ट ब्याटिङ गर्दै ६३ रनको योगदान गरे भने भीम सार्कीले ३३ रन, आरिफ शेख र करण केसीले समान २९ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३१० रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङ गरेको ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २२६ रन मात्र जोड्न सक्यो । ओमानका लागि महोमद नदिमले सर्वाधिक ६५ रन बनाए । सन्दीप गौडले ४६ रन बनाउँदा ओपनर कक्षेप प्रजापतिले २५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । आजको खेलमा विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो सय विकेट लिने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका रसिद खानको नाममा थियो ।

रसिदले ४४ खेलबाट सय विकेट लिएका थिए । सन्दीपले भने ४२ खेलबाटै सय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।

अब नेपाल अर्को खेल वैशाख ११ गते साउदी अरबसँग खेल्ने छ। खेल मुलपानी क्रिकेट मैदानमा हुने छ।

प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।