एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो ।
जितका लागि मलेसियाले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३ं६.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धसतकीय रन बनाए । भिमले ९८ बलमा पाँच चौकाको सहयोगमा ७१ रन बनाए भने कुशल मल्लले ४० बलमा पाँच चौका, पाँच छक्काको सहयोगमा अविजित ७० रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।
बलिङमा मलेसियाका मुहमद वाफिक, रिजवान हैदर, भिरनदिप सिंह र विजय युनाईले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन, भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिए भने ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिए । यससँगै मलेसियाविरुद्ध नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यसअघि भएका पाँच भिडन्तमा पनि सबै नतिजा नेपालको पक्षमा रहेको थियो ।
एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।
यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९युएई०, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
मूलपानी मैदानमा भएको ‘बी’ को अर्को खेलमा हङकङले सिंगापुरलाई आठ विकेटले पराजित गरेको छ ।
प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ । उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।








