क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

पीडितको स्वास्थ्य जाँच गर्ने डाक्टरको सट्टा अर्को चिकित्सकलाई पठाएर बकपत्र गराएको खुलेपछि आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई नै झिकाउनू’भनी आदेश गरेको हो ।

यसका साथै अदालतले सरकारी साक्षीहरु साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउन आदेश दिएको लामिछानेका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिए ।

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाइदिएको थियो । उच्च अदातलले उनलाई विदेश जान लगाएको रोक सर्वोच्चले फुकुवा गरिदिएको थियो ।

उच्च अदालत पाटनले पुस २८ मा लामिछानेलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । साथै, उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म विदेश जान नपाउने, मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिप्पणी गर्न वा धारणा राख्न नपाउने, पीडित किशोरीसँग उनका वकिललाई भेट्न र प्रभावमा पार्न नपाउने र लिखित जानकारी नदिई काठमाडौं उपत्यका छोड्न नपाउने आदेश दिएको थियो ।