नेपालमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट सुरु हुने फाइनल खेलमा घरेलु टोली नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।
प्रतियोगितामा चार अंकसहित नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने लाओस तीन अंकसहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।
फिफा विन्डो अन्तर्गत सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटानले एकएक गोलको बराबरी खेलेपछि दोस्रो स्थनामा रहेको लाओसले फाइनल खेलमा स्थान बनाएको हो । दुई खेल खेल्दै एक अंक बनाएको भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ हजार डलर प्राप्त गर्नेछ ।
यसअघि २०७७को चैतमा भएको थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले हात पारेको थियो । नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।








