प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता आज बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र लाओस खेल्ने छन् ।
नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्दै छ । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।
आज हुने नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाका अनुसार नेपाल, लाओस र भुटान सहभागी प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि लाओस र भुटानका दुबै टोली नेपाल आइसकेका छन् ।
यसगरी प्रतियोगिता अन्तर्गत चैत ११ गते भुटान र लाओस भिड्ने छन् भने चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । फिफा विन्डो अन्तर्गत आयोजना हुने लागेको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छ । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ हजार डलर प्राप्त गर्ने एन्फाले जनाएको छ ।
यसैबीच, प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले २३ सदस्यीय टिम घोषणा गरेका छन् । उनले राष्ट्रिय टिमका किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरेका हुन् ।
मंगलबार एनीसले घोषणा गरेको टोलीमा ७ जना नयाँ खेलाडी छन् । अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणि लामा, सुमित श्रेष्ठ, नविन लामा र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।








