लिग २ विश्वकप अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध शान्दार जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले पीएनजीलाई ३२ ओभरमा सबै विकेट लिएर ९४ रनमै सीमित गरेको थियो । जवाफी व्याटिङमा उत्रिएको नेपालले ९५ रनको लक्ष्य १ विकेटको क्षतिमा ७.४ ओभरमा पुरा गरयो ।
नेपालले यो विकेटको आधारमा हात पारेको अहिलेसम्मकै ठूलो जित हो।
अब बिहीबार युएईलाई पराजित गरे नेपाल जिम्बावेमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा पुग्नेछ।
पीनएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए भने सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछानेलले सर्वाधिक ५ विकेट लिए भने ललित राजवंशीले २ विकेट, कुशल मल्लले २ विकेट, सोमपाल कामीले १ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए ।
पीएनजीका लागि काड सोपरले एक विकेट लिए ।








